घिसिङलाई बर्खास्त गरेको विरोधमा संसदमा विपक्षी दलहरूको अवरोध
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा विपक्षी दलहरूले संसदमा अवरोध गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् । विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए । बस्नेतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइनु पनि बिचौलियाको स्वार्थमा काम भएको बताए ।
‘सरकार स्वार्थ समूहको पृष्ठपोषण र वैशाखीमा निर्मित भएको कारणले स्वार्थ समूह र बिचौलियाको हित रक्षा र समर्पित गर्नु नियत र नियति बनिरहेको छ,’ बस्नेतले संसदमा भने । लोकतन्त्रमा संख्या महत्त्वपूर्ण भए पनि जनचाहनामा संख्याका पहाडहरू गर्ल्यामगुर्लुम ढलेको इतिहास रहेको उनले बताए ।
‘सरकारले दुईतिहाइको समार्थ्य एक राष्ट्रसेवकलाई अपमानित गर्न, मानमर्दन गर्न र सार्वजनिक संस्थालाई तेजोबध गर्न प्रदर्शन गरिराखेको छ,’ उनले भने, ‘स्पष्टीकरणको नौटंकी रचेर आफ्नो गलत कर्तुतलाई छोप्ने दुष्प्रयत्नसमेत सरकारले गरिराखेको छ ।’
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती वक्यौता उठाउन नदिने माफियाहरूको स्वार्थ पूरा गर्ने, प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पिने उद्देश्यमा आधारित छ भन्ने कुरा आमजनता स्पष्ट रहेको पनि उनको भनाई थियो।
सांसद बस्नेतले विद्युत प्राधिकरणलाई तेजोवध गर्नका लागि सरकार लागि परेको बताए । स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि घिसिङलाई कार्यकारी निर्देशकबाट हटाइएको उनको आरोप छ ।ऊर्जामन्त्री दिपक खड्काले नेपालमा लोडसेडिङ अन्त्य हुनुको जस भारत सरकारलाई दिनुपर्ने लगायतका अभिव्यक्ति दिएको बस्नेतले विरोध गरे ।
प्रतिपक्षी दलहरुको सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेको थियो।
सरकारले कुलमान घिसिङको कार्य सम्पादन राम्रो नभएको भन्दै पदबाट हटाउने निर्णय चैत ११ गतेको मन्त्रिपरिषद बैठकबाट गरेको थियो । कुलमानलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।आज बसेको विपक्षी दलहरुको बैठकले कुलमानलाई हटाउने निर्णय गलत भएको ठहर गरेको छ ।

