राजाका बारेमा अनावश्यक टिप्पणी गर्नुभन्दा आफ्नो कुकर्मको प्रायश्चित गर्न देउवालाई राप्रपा केन्द्रीय सदस्य शाहीको सुझाव
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य धनसुर शाहीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राजाको बारेमा अनावश्यक टीप्पणी र चिन्ता गर्नुभन्दा जीवनको उत्तराद्धमा आफ्नो कुकर्म प्रायश्चित गर्न सुझाव दिएका छन् ।

‘राजा राजा नै हुन्छन्, राजाले दलीय राजनीति गर्दैनन् । राजसंस्था वंशजको परम्परा हो, चेतना भया,’ राप्रपा नेता शाहीले सामाजिक सञ्जालमा भने ।
जहाँसम्म राजा फर्काउन लागेको राप्रपाले दुःख पाउँछ भन्ने देउवाको चिन्ता छ भन्दै शाहीले भने, ‘देउवाजी राप्रपाको चिन्ता लिनु पर्दैन बरु तपाईँहरुको कुकर्मले गर्दा तपाईंहरु झेलखाना जाने निश्चित छ । यसमा हामीले विचरा भन्नु सिवाय अर्को विकल्प छैन । राप्रपाको अध्यक्ष राप्रपाकै महाधिवेशन प्रतिनिधिबाट चुनिन्छ । यो श्रृङ्खला चलिरहन्छ ।’
संवैधानिक राजाका रूपमा रहने स्वभाव र चरित्र राजा ज्ञानेन्द्रको नभएको भन्ने जहाँसम्म पूर्वप्रधानमन्त्री देउवाको भनाइ छ सो कुण्ठा र पूर्वाग्रहले भरीएको छ ।
‘म भ्रष्ट शेरबहादुर देउवा, मैले नै आतंककारी घोषणा गरेर टाउकोको मूल्य तोकेको । ५००० नेपाली नागरिकको हत्या गरेको स्वीकार गरी सार्वजानिक भाषण गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गिरिबन्धु टि स्टेट घोटालाको आरोपित नाइके हालको प्रधानमन्त्री खड्कप्रसाद ओलीलाई जेल हाल्ने शक्तिशाली राजा हुन्छ्न्,’ भन्ने किसीमको बेतुकको त्रास, मनोविज्ञान र पूर्वाग्रह देउवाको भनाइमा झल्किएको शाहीको दावी छ ।

