कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले दियो संबिधानमा हिन्दुराष्ट्र कायम गर्न र समानुपातिक ब्यबस्था हटाउन सुझाव
काठमाडौं । नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग एवम् नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन (डीएलए)ले सातवटै प्रदेशमा अन्तरक्रिया गरी त्यसबाट प्राप्त सुझाव समेटेर पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिबेदन बुझाएको छ।

बुधबार आयोजित एक कार्यक्रममा पेशागत तथा बुद्धिजीवि विभाग प्रमुख डा. डिला संग्रौला पन्तले सभापति देउवालाई सो प्रतिबेदन हस्तान्तरण गरेकी हुन्। प्रतिबेदनमा संविधानको प्रस्तावनामै हिन्दू राष्ट्र कायम गर्न र समानुपातिक निर्वाचन प्रणाली हटाउन सुझाव समेटिएको छ।
बिभागले सातै वटै प्रदेशमा ‘संविधान संशोधन आजको आवश्यकता र चुनौती’ विषयमा अन्तरक्रिया गरेको हो।उक्त प्रतिवेदनमा प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचित प्रणाली मात्र राख्नुपर्ने उल्लेख छ।
२०७२ सालको संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएकोमा अहिले नेपाली कांग्रेसमा संविधानको प्रस्तावनामै हिन्दू राष्ट्र कायम गर्नुपर्ने सुझाव प्रस्तुत भएको विभाग प्रमुख संग्रौलाले बताइन् । यसैगरी संघीयतालाई बलियो बनाउन जनप्रतिनिधिको संख्या घटाउँदै प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनबाट १६५ जना निर्वाचित हुने व्यवस्था गर्नुपर्ने सुझाव समेत प्रतिवेदनमा समेटिएको उनले जानकारी दिइन् ।

