सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ र ६ का स्थानीयले पाए जिल्लाको सांसद रक्षामन्त्री हुंँदाको प्रत्यक्ष लाभ



सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं ५ र ६ का स्थानीयले बर्षौंदेखि बन्द रहेको बाटोको उपभोग गर्न पाउने भएका छन् ।

द्वन्द्वकालमा तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीले २०५८ साल मंसिर १० गते सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आक्रमण गरेर ठुलो क्षति पुर्‍याएपछि स्थापना भएको तत्कालीन शाही नेपाली सेनाको इन्द्रध्वज गुल्म नाम्चेको सुरक्षा पोष्ट सल्लेरीले तारजाली लगाउंदा बन्द भएको सो बाटो खोल्नका लागि हालको नेपाली सेनाले फागुन २९ गते सहमति दिएसंगै स्थानीयले सो बाटो उपभोग गर्न पाउने भएका हुन् ।

रक्षामन्त्री मानबीर राईको पहलमा प्रधान सेनापति अशोक राज सिग्देलले दुर्गाबक्स गण ओखलढुंगाका गणपति बिजय प्रकाश आङदम्बेलाई बाटो खोल्न निर्देशन दिएसंगै सो गण अन्तर्गतको सुरक्षा गुल्म सल्लेरी छेकबारका लागि लगाईएको तारजाली हटाउन सहमत भएको थियो । दुर्गाबक्स गण अन्तर्गत रहेको सल्लेरी सुरक्षा गुल्मको प्रमुख समृतजंग थापा रहेका छन् । उनले स्वीकृति दिएपछि गुल्म सुरक्षाका लागि लगाईएको तारजाली हटाएर अहिले श्रमदानमार्फत दूरसञ्चार शिब मन्दिर हुँदै च्याल्सा जाने १०० मिटर मोटरबाटो खन्ने काम स्थानीयले गरिरहेका छन् ।

सल्लेरी आक्रमण पूर्ब सदरमुकाम सुरक्षाका लागि नेपाली सेनाको एउटा सेक्सन सल्लेरीमा रहंदै आएको थियो। माओवादीले सदरमुकाम सल्लेरीमा आक्रमण गरेपछि स्थानीयबासिन्दाको निजीसंगै विभिन्न सरकारी कार्यालयले चर्चेको झण्डै २०० रोपनी भन्दा बढी जग्गा लिएर सेनाले गुल्म स्थापना गरेको हो । त्यतिबेला मुआब्जा दिएर स्थानीयको जग्गा अधिग्रहण गरिए पनि स्थानीयले प्रयोग गर्दै आएको बाटो सेनाले तारजालीले घेरे पछि हालको सोलुदुधकुण्ड नगरपालिकाको वडा नं ५ र ६ का झण्डै १५ सय घर परिवारले ठुलो सास्ती ब्यहोर्दै आएका थिए । रक्षामन्त्री राईको पहलमा तारजाली हटाएर एम्बुलेन्स र सुमो गाडी हिंड्ने गरी मोटरबाटो जनश्रमदानमार्फत खन्न सुरु भएपछि उनीहरुले औधी खुसी व्यक्त गरेका छन् । यो बाटो खुलेपछि आफ्नो गन्तव्यमा पुग्न समय र पैसा दुबै बचत हुने स्थानीयको भनाई छ ।

यो बाटोले शिव मन्दिर,जिल्ला कारागार,सरकारी वकिलको कार्यालय,जिल्ला बन कार्यालय,दलित छात्राबास,गुम्बा, किराँत संग्रहालय,सोलुखुम्बु बहुमुखी क्याम्पस,थाथिङ गाउँ ,चर्च र च्याल्सा जाने यात्रुहरू प्रत्यक्ष लाभान्वित हुने स्थानीय दामोदर ढुंगानाले रहस्य खबरलाई बताए।यो बाटो खुलेपछि हिंड्दा एक घण्टा लाग्ने बाटो १० मिनेटमा पुग्न सकिने भएका कारण समय र गाडीले १५ सय लिने ठाउँमा ५० रुपैयाँले पुग्ने भएका कारण पैसाको समेत बचत भएको उनको भनाई छ ।

यसअघि पूर्णबहादुर खड्का रक्षामन्त्री हुँदा जिल्लाका कांग्रेस नेताहरुले सो बाटो खोल्न ठुलै प्रयत्न गरे पनि त्यो सफल भएको थिएन । यस पटक सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्बाचित सांसद मानबीर राई रक्षामन्त्री छन्।जिल्लाकै सांसद रक्षामन्त्री भएका कारण यो बाटो खुलेको र यसले आफुहरुलाई प्रत्यक्ष लाभ पुगेको स्थानीयको भनाई छ ।

सेनाले तारजाली हटाएपछि स्थानीय बासिन्दा आफैंले पैसा उठाएर बाटोको डिपीआर तयार गर्नुका साथै जनश्रमदान मार्फत बाटो खन्ने काम अहिले भइ रहेको छ। ‘आजै मात्र पनि बाटोमा पर्ने रुख हटाउने काम भएको छ, मुख्य गरेर बिदाको समय उपयोग गरेर बाटो निर्माणको काम अघि बढाउंदैछौ’ ढुंगानाले भने ।

प्रतिक्रिया दिनुहोस्