सुशासनको लागि नेतृत्वले जनताको विश्वास जित्नुपर्छ :शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र सांस्कृति अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१ माथि छलफलमा भाग लिदै उनले सुशासनको लागि नेतृत्वले जनताको विश्वास जित्नु पर्ने बताए।
उनले भ्रष्टाचारमा संलग्न भएका राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्नुपर्ने बताए। संवैधानिक आयोगहरुले गर्ने काम कारबाही पारदर्शी हुनुपर्ने उनको भनाइ छ।
उनले नेतृत्वलाई खबरदारी गर्दै जनताको निर्देशनमा चल्नसक्ने शासन प्रणाली र संस्कार आवश्यक भएको उल्लेख गरे। कानुनमा भएका दोहोरो अर्थ लाग्ने विषयलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ।

