प्रधान सेनापति खुल्ला म्याराथनको दशौं संस्करण सम्पन्न
डिल्ली शर्मा,काठमाडौं।महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रधान सेनापति खुल्ला म्याराथन-२०८१ को दशौँ संस्करण सम्पन्न भएको छ।

कार्यक्रममा ४२.१९५ किलोमिटर म्याराथन (खुल्ला पुरुष), २१ किलोमिटर हाफ म्याराथन (खुल्ला महिला/पुरुष), १० किलोमिटर दौड (छात्र तथा छात्रा), १० किलोमिटर दौड (सैनिक अधिकृत र सैनिक सहचारी),५ किलोमिटर दौड (छात्र तथा छात्रा) र ५ किलोमिटर वाकाथन विधाहरू समावेश थियो ।
उक्त प्रतियोगिताको ४२.१९५ किलोमिटर खुल्ला म्याराथनतर्फ नेपाली सेनाका हुद्दा खड्ग बहादुर खड्काले निर्धारित दुरी २ घण्टा १७ मिनेट २० सेकेन्डमा पुरा गरी प्रथम स्थान हासिल गर्नु भयो । त्यसै गरी २१ किलोमिटर हाफ म्याराथन खुल्ला पुरुष तर्फ नेपाली सेनाका प्युठ मुकेश बहादुर पालले निर्धारित दुरी १ घण्टा ०४ मिनेट ४१ सेकेन्डमा पुरा गरी प्रथम स्थान र २१ किलोमिटर हाफ म्याराथन खुल्ला महिला तर्फ सन्तोषी श्रेष्ठले निर्धारित दुरी १ घण्टा १७ मिनेट ०४ सेकेन्डमा पुरा प्रथम हुनुभएको थियो ।
विभिन्न विधाहरूमा विजयी धावकहरूलाई रक्षामन्त्री मानवीर राई, प्रधान सेनापति अशोक राज सिग्देल,पूर्व प्रधानसेनापतिहरू,सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देल,बलाधिकृत रथी, बलाध्यक्ष रथी तथा काठमाडौँ महानगरपालिकाका र MAW Rides Pvt Ltd का प्रतिनिधिहरूले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रममा बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, लगायत विभिन्न सरकारी निकायका पदाधिकारीहरू, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरू, विभिन्न खेलका प्रशिक्षकहरू, सैनिक सहचारीहरू, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

