आहारारा पोखरा गोल्डकप:उपाधिका लागि पुलिस क्लब र ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा हुँदै
केदार बस्नेत,काठमाडौ ।२४औं आहारारा पोखरा गोल्डकपको उपाधिका लागि नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्सबीच आज प्रतिस्पर्धा हुँदैछ ।

खेल पोखरा रंगशालामा शनिबार आज दिउँसो २:३० बजे सुरु हुनेछ । पुलिसले ११औं पटक फाइनल खेल्न लागेको हो भने ब्ल्याक बुल्स पहिलो सहभागितामै फाइनल पुगेको हो ।
पुलिसले उद्घाटन खेलमै आयोजक सहारा क्लबलाई १-० ले पराजित गरेको थियो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० ले पराजित गरेको पुलिसले सेमिफाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई १-० ले हराएर फाइनल पुगेको हो ।
बाई पाएर सिधै क्वाटरफाइनल खेलेको ब्ल्याक बुल्सले खेलेको दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको हो । क्वाटरफाइनलमा सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० ले पराजित गरेको ब्ल्याक बुल्सले पाँच पटकको आहारारा पोखरा गोल्डकप विजेता थ्री स्टारलाई ४-० ले हराएर पहिलो सहभागितामै फाइनल पुगेको हो ।
पुलिसले २४ मध्ये २३ संस्करण खेलेको छ र आहारारा पोखरा गोल्डकपमा कीर्तिमान बनाउने अवसर छ । पुलिसले फाइनल जिते सर्वाधिक ७ पटक उपाधि जित्ने पहिलो टिम बन्नेछ ।यद्यपि ब्ल्याक बुल्सपनि उच्च लयमा रहेकाले त्यो अवसर सिर्जना गर्न पुलिसलाई सकस नपर्ला भन्न सकिन्न।

