प्रभाव र दबाबमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै प्रभाव,भनसुन र दबाबमा नपरी संविधान एवम् कानून बमोजिम प्रमाण र तथ्यमा आधारित भई न्यायसंगत ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभएको छ।

नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित नेपाल पुलिस क्लब ‘The Blue Pavilion’ भवनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले जनताको अपेक्षा अनुरूप सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको हो ।ओलीले नवनिर्मित भवनले प्रहरीलाई शारीरिक र मानिसक हिसाबले स्वस्थ्य र सबल बनाउँदै प्रहरीले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको विकासक्रमसँग सम्बद्ध विभिन्न ऐतिहासिक तथ्य, दस्तावेज एवम् घटनाक्रमहरूको संकलन,अध्ययन एवम् विश्लेषण गरी तयार पारिएको’नेपाल प्रहरीको इतिहास भाग २’ पुस्तकको विमोचन गर्नुका साथै पुस्तक लेखनमा योगदान पुर्‍याउने प्रा.डा.द्वय शंकर थापा र धनश्याम भट्टराईसंगै भवन निर्माणमा योगदान पुर्‍याउने प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा,प्रहरी वरिष्ठ उपरीक्षक ई.रामकुमार चौधरी लगायतलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल प्रहरीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि ७४ लाख रूपैयाँको चेक प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रमलाई गृहमन्त्री रमेश लेखक,गृहसचिव गोकर्णमणि दुवाडी ,प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर,नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सम्बोधन गर्नुभएको थियो।उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कुल ७५ करोड ८७ लाख २९ हजार ८ सय ३० रूपैयाँ ४५ पैसाको लागतमा उक्त भवन निर्माण कार्यसम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्