रक्षामन्त्री राईद्वारा नेचासल्यानमा सत्संग सामुदायिक भवन शिलान्यास



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रक्षामन्त्री मानबीर राईले नेचासल्यान गाउँपालिकाको वडा नं-३ मा सत्संग सामुदायिक भवनको शिलान्यास गरेका छन्।

जमरकट्टेल सेवा प्रतिष्ठानले भारद्वाज ऋषि आश्रम एकीकृत बिकास परियोजना अन्तर्गत निर्माण गर्न लागेको सो भवनको सोमबार शिलान्यास गरेका हुन्।

प्रतिष्ठानका अध्यक्ष देवेन्द्र जमरकट्टेलको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले धर्म,संस्कार र संस्कृतिको संरक्षण सबैको दायित्व भएको बताएका थिए।संस्कार र संस्कृतिको संरक्षणमा प्रतिष्ठानले खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै उनले यसको बिकास र बिस्तारमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

माघ ९ गतेबाट टीएन ए कन्ट्रक्सनले २९ लाख ५९ हजार ९ सय ९२ रुपैयाँमा निर्माण प्रारम्भ गरेको सो भवन आगामी बर्षको असार १५ गते सम्पन्न गर्न लक्ष्य रहेको प्रतिष्ठानका महासचिव प्रेम प्रसाद जमरकट्टेलले जानकारी दिए।उक्त भवनमा सत्संग हल,कैलाशेश्वर मन्दिर क्षेत्र बिकास समितिको कार्यालय र संग्राहलय रहने उनले बताए।

भवन निर्माणका लागि रक्षामन्त्री राईकै पहलमा चालु आर्थिक बर्षको बजेटमा संघीय सरकारबाट ४५ लाख बजेट बिनियोजन भएको प्रतिष्ठानले जनाएको छ।

कार्यक्रममा नेचासल्यान गाउँपालिकाका संस्थापक अध्यक्ष डुफकुमार बास्तोला,प्रतिस्ठानका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्