सोलु कांग्रेसमा संस्थापन इतर समूह सक्रिय हुने संकेत, के भन्छन् नेताहरु?
केदार बस्नेत,काठमाडौ । कागजी विज्ञप्तिमा मात्र सिमित रहंदै लामो समयदेखि निष्क्रिय रहेको सोलु काँग्रेसको संस्थापन इतर समूहले अब भने सक्रिय बन्ने संकेत देखाएको छ ।

बर्तमान सभापति नाम्गेल जाङ्बु शेर्पाले बोलाएको बैठक तथा कार्यक्रमहरुमा सक्रिय नहुने घोषणा गरेर बहिष्कार गर्दै आएको संस्थापन इतर समूहले उपसभापति घनराज सुनुवारको अध्यक्षतामा शनिबार जिल्ला कार्यसमितिको बैठक राखेर संस्थापन इतर समूहले आफू अब सक्रिय बन्ने संकेत गरेको हो।पार्टी सभापति नाम्गेल जाङ्बु शेर्पा जापान भ्रमणमा रहेका बेला सदरमुकाम सल्लेरीस्थित बसन्तबजारमा रहेको पार्टी कार्यालयमा बसेको संस्थापन इतर समूहको बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ।
बैठकले क्रियाशील सदस्यता नवीकरण,नयाँ क्रियाशील सदस्यता वितरण पार्टी,भातृ तथा शुभेच्छुक संघहरुलाई मजबुत एवं चलायमान बनाउँने विषयमा केन्द्रित रहेर छलफल एवं अन्तरक्रिया गरिएको जिल्ला सचिव भलाकाजी कुलुङले बताए।
बैठकमा वडा तथा पालिका सभापति एवं क्रियाशिल सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको उनले बताए।उक्त बैठकलाई सम्बोधन गर्दै निवर्तमान जिल्ला सभापति विनोद कुमार बस्नेतले आवश्यकतालाई मध्यनजर गर्दै पार्टीको बैठक बस्न सकिने बताए। बस्नेतले पार्टीलाई मजबुत बनाउँने जिम्मेवारी सबैको रहेको भन्दै जिम्मेवार भएर काम गर्न सुझाव दिए।
यस्तै नेपाली कांग्रेस सोलुखुम्बुका महाधिवेशन प्रतिनिधि एवं सोताङ गाउँपालिका सोलुखुम्बुका अध्यक्ष खिलराज बस्नेतले पार्टीलाई व्यक्तिको नाममा जोड्न नहुने बताए।उनले जिल्लामात्र होईन देश हाँक्न सक्ने क्षमता भएका नेताहरु जिल्लामा भएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास दिलाएका छन् ।
यस्तै महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्कीले निर्वाचनमा कांग्रेस पराजित भएपनि जनमतको हिसाबले जिल्लामा पहिलो दल रहेको स्पष्ट पारे।नेता कार्कीले आफू निर्वाचनमा पराजित भएपनि नेता र कार्यकर्तासँग सुखदुःखमा हातेमालो गर्दै आएको बताए।कार्कीले कांग्रेसमा एकता हुन जरुरी रहेको स्पष्ट पारे।
बैठकलाई सम्बोधन गर्दै पुर्व महासमिति सदस्य हुतराज बस्नेतले कांग्रेस लोकतन्त्रीक रुपमा नचलेको बताए।बस्नेतले जिल्लाको नेतृत्वबीचमा एकता नभएको सन्देश कार्यकर्तामा गएको बताए।
बैठकमा कोशी प्रदेश सदस्य जयप्रसाद राई, जिल्ला उपसभापति घनराज सुनुवार जिल्ला सचिवद्वय भलाकाजी कुलुङ र युवराज घिमिरे,प्रदेश सभा (क) का सभापति एवं नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई,प्रदेश उपसभापति फुर्तिमान तामाङ तथा टार्जन कुलुङ महाधिवेशन प्रतिनिधिहरु कुशराज राई,जीवन गुरुङ,महेन्द्रदीप राई,एकाकुमारी कार्की बस्नेत,महिला संघ अध्यक्ष छिण्डील्हमु शेर्पा तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य वेदप्रसाद वन लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको सचिव कुलुङले जानकारी दिए ।
बैठकले क्रियाशिल सदस्यता वितरण र नवीकरणको मुख्य जिम्मेवारी वडा सभापति र पालिका सभापतिको भएकोले वैधानिक रुपमा काम गर्न जिम्मेवार नेताहरुलाई निर्देशन समेत दिएको उनले बताए।





