प्रहरी सेवालाई थप प्रभावकारी बनाउँने महानिरीक कुँवरको प्रतिबद्धता



पोखरा।प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च मनोबलसहित प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन् ।

कास्कीको पोखरा महानगरपालिका–६ स्थित वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले प्रहरी सेवालाई थप प्रभावकारी बनाउँदै जनताको सेवामा समर्पित हुने बताएका हुन् ।

अपराध नियन्त्रणप्रति शून्य सहनशीलता अपनाउँदै प्रहरी संगठनले काम गर्दै आएको बताउँदै समाजमा हुने सबै प्रकारका विकृतिका विरुद्ध प्रहरी सक्रिय भएर आफ्नो सेवामा जुट्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

देशभर अपराधका घटना वार्षिक रूपमा २० देखि २३ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएकाले त्यसतर्फ प्रहरी संगठनको ध्यान केन्द्रित हुने आईजीपी कुँवरको भनाइ छ ।

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयको १० करोड ६० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । चार वर्षको अवधिमा दुई चरण गरी सुविधा सम्पन्न प्रशासनिक कार्यालय, ब्यारेक भवन, हिरासत कक्ष र भान्छा घर निर्माण गरिएको हो । पाँच रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार ९०५ वर्गफिट क्षेत्रफलमा उक्त भवन बनेका हो ।

बुधबारमात्रै महानिरीक्षक कुँवरले मनाङको नवनिर्मित भवनको उद्घाटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्