एक्लै चुनाव लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको माओबादी केन्द्रको निष्कर्ष
काठमाडौँ । नेकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने पार्टीको निर्णय जनताबाट अनुमोदन भएको निष्कर्ष निकालेको छ ।

पुष्पकमल दाहाल‘प्रचण्ड’को निजी निवास खुमलटारमा बिहीबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको प्रबक्ता अग्निप्रसाद सापकोटा ले जानकारी दिए।
‘माओवादी एकताबद्ध भएर जनतामा गएको छ । यसले सकारात्मक नतिजा दिएको छ । पहिला हामीले जितेको आठ वटा थियो अहिले १२ वटा भएको छ’, सापकोटाले भने, ‘ एक्लै चुनाव लड्दा जनताले साथ दिएका छन् । सबै पार्टी मिल्दा पनि हाम्रै पार्टीले विजय हासिल गरेको छ । यसले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको आधार उपचुनावले दिएको छ ।’
उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको भन्दै २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए । उनले अब पालिका अधिवेशन र खबरदारी सभामा नेतृत्व केन्द्रित रहने जानकारी दिए । उपचुनावको समीक्षा गर्दै अब २०८४ को चुनावका लागि माओवादीले सबै तयारी थाल्ने माओवादीले जनाएको छ ।
बैठकले मङ्सिर २७ गते स्थायी समिति बैठक बोलाएको उपाध्यक्ष अग्नि सापकोटाले बताए । file foto

