बढ्न थाल्यो काठमाडौं उपत्यकामा प्रदूषणको ग्राफ



काठमाडौं।उत्तरार्धको वर्षाले विनाश निम्त्याएर मनसुन बिदा भएको १८ दिनमै काठमाडौं उपत्यकामा प्रदूषणको ग्राफ बढ्न थालेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरको प्रदूषित शहर सूचीमा नेपाल दिउँसोपख २५औं स्थानसम्म उक्लिइसकेको छ ।

आइक्यू एअरका अनुसार यतिखेर उपत्यकाका हाँडीगाउँ, रत्नपार्क र जावलाखेल गरी तीन स्थानको वायु गुणस्तर संवेदनशील समूहका लागि अस्वस्थकर छ । शनिबार दिउँसो झण्डै दर्जन स्थानको वायु प्रदूषणले मध्यमस्तर पार गरेको थियो ।

यतिखेर नेपालको वायु प्रदूषण सूचक ८१ एक्यूआइमा पुगेको छ । गत वर्ष झण्डै दुई दर्जनपटक यस्तो एक्यूआइ १८० भन्दा माथि उक्लिँदा नेपालको वायु प्रदूषणस्तर विश्वका प्रमुख १०० शहरको शीर्ष स्थानमा पुगेको थियो ।

यतिखेर चीनको राजधानी बेइजिङ, भारतको राजधानी नयाँ दिल्ली र पाकिस्तानको राजधानी इस्लामावादको वायु गुणस्तर संसारकै अति अस्वस्थ अवस्थामा पुगेको छ । प्रदूषक र जैविक इन्धनको अतिप्रयोग तथा ठूलो भूभागका खेतबारीमा पराललगायत वनस्पति जलाउँदा निस्कने धुवाँले यी देशमा हरेक वर्ष वायु प्रदूषणले रेकर्ड राख्ने गर्छ ।

काठमाडौं उपत्यकाका हकमा वर्षा गराउने मनसुनी वायु सेप्टेम्बर अन्तिम साता बङ्गालको खाडीतर्फ फर्किएपछि प्रदूषक सवारीसाधन, हावाहुरीले उडाउने धुलो र पश्चिमी चिसो/सुख्खा वायुका कारण वायुमण्डलमा प्रदूषणको तह लाग्ने गर्छ ।

मनसुन बाहिरिएर कात्तिक पहिलो सातादेखि पश्चिमी वायु सक्रिय भइ चिसो बढ्न थालेपछि वर्षा पनि कम हुन्छ । चिसो वायुको स्वभाव जहिले पनि जमिनसँग टाँसिएर बहने हुन्छ ।

चिसो भएपछि गह्रौं हुन्छ र त्यसले वायुमण्डलमा रहेको धुवाँधुलोका साना कणलाई पनि जमाएर तल्लो तहमै ल्याइपुर्‍याउँछ । पृथ्वीको सतहबाट उडेको धुवाँधुलोका कण पनि वायुमण्डलको तल्लो तहमा रहने त्यही गह्रुँगो चिसो पश्चिमी वायुमा जमेर बस्छ ।

फागुनदेखि जेठसम्म कायम रहने ग्रीष्मकालीन तातो र सुख्खा मौसम (हट एण्ड ड्राइ समर सिजन) का बेला अघिल्ला वर्षमा नेपालको सङ्घीय राजधानी काठमाडौंको वायुस्तर बारम्बार विश्वकै सबैभन्दा प्रदूषित स्तरमा पुग्ने गरेको थियो । यसपटक माघसम्म कायम रहने शीतकाल प्रारम्भ भएको कात्तिक पहिलो सातादेखि नै नेपालका शहरको वायुस्तर अस्वस्थकर भएको हो ।

पश्चिमी वायु सक्रिय भएका बेला माघ पहिलो सातातिर केही वर्षा हुन्छ । अन्य समयमा पनि आक्कलझुक्कल वर्षा भए पनि वायुमण्डलमा रहेको प्रदूषणको तह नै निखार्नेगरी बारम्बार झरी पर्दैन ।

माघदेखि तापक्रम बढ्न थाले पनि वर्षा कम हुने हुँदा उपत्यका, तल्लो उचाइका नदी किनार तथा तराई क्षेत्रको आकाशबाट तत्कालै धुवाँ धुलोको तह हट्दैन ।

प्रतिक्रिया दिनुहोस्