सरकारले अगाडी बढाइरहेका प्रक्रियाहरुमा सहयोगका लागि सत्तारूढ दलहरूको आग्रह



काठमाडौं।सत्तारुढ दलहरुले सडकबाट अवाञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्‍याउने काम नगर्न आग्रह गरेको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ सात राजनीतिक दलहरुले साझा ७ बुँदे संयुक्त बक्तब्य सार्वजनिक गर्दै देशको लोकतान्त्रिक वातावरणलाई बिथोल्ने अनुचित र अवाञ्छित तरिकाहरु उचित नभएको बताएका हुन् ।

मुलुकको लोकतान्त्रिक प्रक्रियालाई सहि दिशामा अगाडी बढाउनका लागि सरकारले अगाडी बढाइरहेका प्रक्रियाहरुमा सहयोगका लागि आग्रह गरेका छन् । सत्तारुढ दलहरुले लोकतन्त्रको विकल्प उन्नतस्तरको लोकतन्त्र मात्रै हुने भन्दै लोकतन्त्रमा सरकारको विकल्प संसदबाट र जनादेशबाट मात्रै हुने स्पष्ट पारेका छन् ।

सडकबाट आवञ्छित गतिविधि गरी अमनचयनलाई खलल पुर्याउने र विकास निर्माणको कामलाई अवरोध गर्ने काम उचित नभएको सत्तारुढ दलहरुको निष्कर्ष रहेको छ ।

संयुक्त वक्तव्यमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाकी सहअध्यक्ष रेणु यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्