कास्कीमा अनुसन्धानका लागि ७ दिन म्याद थप, रुपन्देही अदालतद्वारा पक्राउ पूर्जी जारी
काठमाडौं ।सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले रास्वपा सभापति रबि लामिछानेलाई थप अनुसन्धानका लागि ७ दिन म्याद थप गरेकै दिन बिहीबार रुपन्देही जिल्ला अदालतले पनि उनी सहितका आरोपीहरुलाई पक्राउ गर्न अनुमति दिएको छ।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रविसँगै १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।
सुप्रिम सहकारीको रकम अपचलनको विषयमा छविलाल जोशीसँग यसअघि जिल्ला अदालत रुपन्देहीमा दुई दिन बयान लिइसकिएको छ।सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।
यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै प्रहरीले म्याद थपका लागि लामिछानेलाई विहीबार अदालतमा उपस्थित गराएको थियो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति
दिएको हो।सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई असोज २ गते काठमाडौंबाट पक्राउ गरेर बयानका लागि पोखरा लगेको थियो।

