लुम्बिनी प्रदेश सरकार विस्तार कांग्रेसबाट दुई र जसपाबाट एक नयाँ मन्त्री थपिए



काठमाडाैं । लुम्बिनी प्रदेश सरकार विस्तार गरिएको छ । जसमा नेपाली कांग्रेसका दुई र जनता समाजवादी पार्टीका एक गरी तीन जना मन्त्री थपिएका छन्।

कांग्रेसभित्रको आन्तरिक किचलोले रोकिएको मन्त्रिपरिषद् विस्तारको टुंगो बुधबार हिजो मात्रै लागेको थियो। नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा कुरा नमिल्दा अझै एक मन्त्रालय मुख्यमन्त्रीकै जिम्मामा छ।

नेपाली कांग्रेसबाट बर्दियाबाट निर्वाचित जन्मजय तिमिल्सीनाले सामाजिक विकास मन्त्रालय, नवलपरासीबाट निर्वाचित देवकरण कलवारले वन तथा वातावरण मन्त्रालय र बाँकेको निर्वाचन क्षेत्र नम्ब २ को ख बाट निर्वाचित जनता समाजवादीका आदेशकुमार अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन्।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले बिहीवार बिहान उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराइएको हो।

सत्ता साझेदार नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसदहरूको सत्ता यात्रामा यसपटक भने ब्रेक लागेको छ। उनीहरूलाई अर्को चरणमा सहभागी गराइने सत्तासाझेदार दलहरूबीच सहमती भएको छ।

सत्ता साझेदार दलहरूका बीचमा एमालेलाई मुख्यमन्त्री सहित पाँच नेपाली कांग्रेसलाई पाँच र अन्य साना दललाई दुई मन्त्रालय दिने सहमती भएको थियो।

प्रतिक्रिया दिनुहोस्