यज्ञमणि न्यौपानेले दिए रास्वपाकाे अनुशासन आयोगकाे उपप्रमुखबाट राजीनामा

केदार बस्नेत काठमाडौंःराष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पदबाट राजीनामा दिएको रास्वपा स्रोतले पुष्टि गरेको छ ।

‘उनले अनुशासन आयोगको उपप्रमुखबाट राजीनामा पार्टीमा बुझाएका छन् । पार्टीबाट नै राजीनामा दिएका चै होइन्न,’ रास्वपा स्रोतले भन्यो । न्यौपानेले आयोगको उपप्रमुख पदबाट राजीनामा दशैं अगाडि नै बुझाए पनि स्वीकृत भने आज बिहीबार भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
पार्टीको सक्रिय राजनीति गर्नका लागि न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बुर्लाकोटीले दाबी गरे ।
कानुन व्यवसायी न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्षुसम्म काम गरेका छन् । अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा रास्वपा सभापति एंव तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा न्यौपानेले कार्यवाहक प्रमुख भएर काम गरेका थिए ।
देवकोटा अमेरिकामा रहेको बेला तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट न्यौपानेले स्पष्टीकरण सोधेका थिए ।

