प्राकृतिक बिपद्:कांग्रेसले ३४ बुँदे सुझावसहित प्रधानमन्त्री ओलीलाई बुझायो ५० लाखको चेक
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
भेटका अवसरमा नेपाली कांग्रेसले विपद्को सामना मिलेर गर्न र भविष्यमा आउने विपदको पूर्वतयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई आग्रह पनि गरेको छ।
प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे नेपाली कांग्रेसले ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाएको छ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले दिएको उक्त सुझाव मननीय भएको बताए। उनले विपद्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्नेमा विश्वास दिलाए।
प्रधानमन्त्री ओलीसंगको भेटमा सभापति देउवाका अलावा, गृहमन्त्री रमेश लेखक, सो दलका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायत सहभागी थिए।
नेकपा एमालेले पनि यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाखको चेक हस्तान्तरण गरेका थिए।
गत असोज १५ गते बसेको पार्टीको सचिवालय बैठकले गरेको निर्णयानुसार आज वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरूले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन ।

