रिभल्वर र भरुवा बन्दुकसहित तीन जना पक्राउ
काठमाडौं।रिभल्वर र भरुवा बन्दुकसहित प्रहरीले विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार कपिलवस्तु कृष्णनगर नगरपालिका-८ सानो गणेशपुर चोकबाट मेड इन कानपुर लेखाएको ५ राउण्ड गोली लोड गरेको सानो रिभल्वर १ थान र गोलीको खोका १ थान सहित २ जना पक्राउ गरेको छन्। पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश पिपरागाउँ वस्ती बस्ने ३२ वर्षीय प्रितम कुमार र २५ वर्षीय सुरज दुवेदी रहेका छन्। इलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले चन्द्रौटाबाट कृष्णनगरतर्फ जादै गरेको युपि ५१ एम ०५३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शुक्रबार उक्त रिभल्वर सहित फेला पारी पक्राउ गरेको हो।
उता,ताप्लेजुङको फक्तालुङ गाउँपालिका-५ बस्ने जितबहादुर लिम्बु एकनाले भरूवा बन्दुक १ थान सहित शुक्रबार बिहान पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो। साथै सोही कार्यालयबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका-५ स्थित देबिस्थान जंगलको ओढारमा वेवारिसे अवस्थामा रहेको ३ थान भर वा बन्दुक फेला पारी बरामद गरेको छ।

