सरकारले सञ्चालनमा ल्यायो चाडवाड लक्षित सुपथ मूल्य पसल
काठमाडौं । सरकारले दसैं, तिहार, छठलगायत ठूला चाडपर्वमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले देशभर ४२ जिल्लाका ६३ वटा बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।

सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी,साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले बिहीबारदेखि देशभर सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलको खाद्य व्यवस्था तथा व्यापार कम्पनी काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन्।
सो क्रममा मन्त्री भण्डारीले अत्यावश्यक वस्तुहरूमा न्यूनतम पाँच रुपैयाँ छुट दिएर सुपथ मूल्य पसल सञ्चालमा ल्याइएको बताए। चाडपर्वका बेला अत्यावश्यक वस्तुको सहज उपलब्धता र सहुलियत दिने सरकारको सय दिन भित्रको महत्वपूर्ण कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।
चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । उपत्यका लगायत देशभरका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
सुपथ मूल्य पसलबाट चामल, दालमा ५ रुपैयाँ, तेल गेडागुडी, पिठो, मैदा, चिउरा चिनी क्वाटीमा ७ रुपैयाँ, डिडिसी घ्यूमा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको छ । कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।

