कांग्रेस र एमाले गठबन्धन सरकारको ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’मन्त्रिपरिषद्बाट पारित
काठमाडौँ।कांग्रेस र एमाले गठबन्धनको वर्तमान सरकारले ‘सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गठबन्धन दलहरूको प्रतिबद्धताबमोजिम कार्यदलले तयार गरेको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरिएको जानकारी दिए ।’कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिबमोजिम कार्यदलले तयार गरेर उपलब्ध गराएको सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता आजको बैठकबाट पारित भएको छ,’उनले भने ।
साझा संकल्प तयार गर्न कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशसरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।
उक्त कार्यदलले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धताहरूको मस्यौदा तयार गरी बुधबारै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेको थियो ।प्रतिबद्धतामा अर्थतन्त्र थप गतिशिल बनाउने,अलपत्र पूर्वाधार निर्माणलाई गति दिने र मौलिक हक र लैङ्गिक समानता, गरिबी हटाउने र संक्रमणकालीन न्यायका बाँकी कुरा टुंग्याउने विषयलाई जोड दिने बताईएको छ।

