सहकारी रकम अपचलन संसदीय छानबिन विशेष समितिले प्रतिनिधि सभामा पेस गर्‍यो प्रतिवेदन



काठमाडौं।सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठक समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१ पेस गर्नुभएको हो । विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै सो को छानबिन गर्नका लागि भन्दै प्रतिनिधि सभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानबिन विशेष समिति गठन गरेको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताउनु भयो । उहाँले छानबिन समितिमा रहेका पाँच पार्टीहरू एकैतिर फर्किएर छानबिन गरिएको बताउनु भयो ।

उहाँले समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरूसँग सुझावमूलक जानकारी र अन्तरक्रिया गरेको जानकारी दिनुभयो । सहकारी ठगीको आरोपित ४७ जना सहकारी सञ्चालक, गोर्खा मिडिया नेटवर्क प्रा.ली.का सञ्चालक तथा कर्मचारी समेत ३ जना र नियामक निकायका ५ जना गरी जम्मा ५५ जनासँग सोधपुछ गरेका गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले समितिको प्रतिवेदनले दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको पनि उल्लेख गर्नुभयो ।

समितिको प्रतिवेदनमा सबै सदस्यहरूले हस्ताक्षर गरेका छन् । केही समय भाषाका विषयमा कुरा नमिल्दा प्रतिवेदनमा हस्ताक्षर हुन सकेको थिएन । तर सबैको सहमति अनुसार हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्