संबिधान दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन

काठमाडौं।सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रूपमा मनाउने भएको छ ।

संविधानसभाबाट नेपालको संविधान ३ असोज २०७२ मा जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षाेल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।
समितिले आगामी २, ३ र ४ असोजमा तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा ३ असोजमा संविधान दिवस मनाउने निर्णय गरेको हो । समितिको निर्देशानुसार २ असोज संघीय सरकार तथा केन्द्रीयस्तरका कार्यक्रमअन्तर्गत संविधानका विषयमा केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमहरूको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, राष्ट्रियस्तरका छापा सञ्चारगृहहरूलाई संविधान दिवस (राष्ट्रिय दिवस) को उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन गर्नाका साथै संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने समितिले निर्णय गरेको छ । रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक एवं निजी क्षेत्रका अन्य विद्युतीय तथा छापा सञ्चारमाध्यमहरूबाट संविधानको महत्वको बारेमा कार्यक्रम प्रसारण/प्रकाशन गराउने तथा परिसंवाद कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ ।
त्यस्तै, सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघसंस्थाका कार्यालयहरूको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र र सबै सरकारी तथा गैरसरकारी कार्यालयमा दीप प्रज्वलन गर्ने व्यवस्था मिलाइने छ । आम नागरिकलाई आ–आफ्नो घरको छत, बरन्डामा राष्ट्रिय झन्डा सजाउन र साँझ दीपावली गर्न आह्वान गर्ने, सम्भाव्य फराकिला सार्वजनिक चोकहरूमा राष्ट्रिय गान र राष्ट्रभक्तिका साङ्गीतिक महोत्सव आयोजना गरिने छ ।

