प्रसिद्ध तीर्थस्थल दुधकुण्डमा स्वास्थ्य शिबिर सम्पन्न



दिप खालिङ,सोलुखुम्बु।४ हजार ६ सय मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल दुधकुण्डमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ।

सोलुदुधकुण्ड नगरपालिका वडा नं १ मा अवस्थित सो तीर्थस्थलमा आउने यात्रीहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुले भाद्र १ गतेदेखि ३ गतेसम्म सो शिबिर सञ्चालन गरेको थियो।

उक्त स्वास्थ्य शिविर दुधकुण्ड जादाबखतको कामुडाडाँ, बाटोका विभिन्न स्थान हुदै दुधकुण्डमा समेत संचालन गरिएको थियो । उचाइका कारण टाउको दुख्ने,बान्ता हुने,रक्तचापमा वृद्धि, झाडापखाला,रिगटा लाग्ने,श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका तिर्थयात्रीहरुलाई रेडक्रस स्वयंसेवक सँगै रहेका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच तथा निशुल्क औषधि समेत वितरण गरिएको थियो । रेडक्रसले संचालन गरेका स्वास्थ्यशिविर अन्तर्गत कामुडाडा तथा बाटोमा गरि १३५ जनालाई औषधि वितरण, १४३ जनाको स्वास्थ्य परीक्षण (अक्सिजन लेभल, प्रेसर) गरिएको थियो ।

दुधकुण्डमा भने ५६७ जनालाई औषधि वितरण तथा स्वास्थ्य परीक्षण गरिएको थियो। उक्त कार्यक्रम संचालन गर्नका लागि १० जना स्वयंसेवक परिचालन गरिएको थियो । कार्यक्रम संचालनका लागि आवश्यक औषधि तथा स्वयंसेवकहरुको खाना तथा आवास व्यवस्थापन तथा सामग्रीहरु व्यवस्थापन नेपाल लाइफ इन्स्यनोरेन्स कम्पनि लि.ले सहयोग उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्