नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश




काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा पक्राउ परेका बेचन झालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलाननको आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए। अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धानरा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

झाविरूद्ध सरकारी वकिल कार्यालयले मंगलबार ठगी,लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। भारतीय समेत नागरिकता रहेको दाबी गरिएका झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ छ ।

गत असार १४ गते बेचन झालाई प्रहरीले पक्राउ गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानले उनको संलग्नता रहेको भनिएको थियो। तर झा फरार रहँदै आएका थिए। यसअघिको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाडौंले ठेगाना नखुलेको भनेर प्रतिवादी पनि बनाएको थिएन।

प्रतिक्रिया दिनुहोस्