पार्टीले उठाएका एजेन्डालाई प्रभावित गर्ने कुनै पनि काम नेतृत्वबाट हुँदैन : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाएका एजेन्डालाई प्रभावित हुने कुनै पनि काम नेतृत्वबाट नहुने स्पष्ट पारेका छन्।

बिहीबार काठमाडौंमा पार्टीको जिल्ला अध्यक्षहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यसअघि भएका गल्ती कमजोरीलाई सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
तत्काल सरकारमा जाने कुनै तयारी नरहेको पनि उनले बताए।
सरकारमा जाने भन्ने कुरा व्यक्तिगत चाहनाले मात्रै नभइ परिस्थितिले निर्माण गर्ने उनको भनाई थियो।संसद्को गणित र राष्ट्रिय राजनीतिमा सरकारमा रहँदा वा नरहँदा के फरक रहन्छ भन्ने विश्लेषण पार्टीले गर्ने लिङ्देनले उल्लेख गरे ।
त्यस्तै, अध्यक्ष लिङ्देनले भन्दै संविधानको आधारभूत कुराहरूमा नै पार्टीको फरक मत रहेकाले संविधान संशोधनको पक्षमा आफूहरू रहेको जिकिर गरे ।
साउन १८ गतेसम्म चल्ने उक्त भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरूको सहभागिता रहेको छ । बैठकमा जिल्ला अध्यक्षहरूले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समीक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने जनाइएको छ।

