१८ जना सहकारी ठग बिदेशमा,स्वदेश फर्काउन पहल गर्न गृहमन्त्रीलाई संसदीय छानबिन समितिको निर्देशन
काठमाडौं।सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन र ठगी गर्ने ब्यक्तिका सम्बन्धमा गृहमन्त्री रमेश लेखक,गृह सचिब एक नारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसंग छलफल गरेको छ।

सोमबार बसेको समितिको २३ औं बैठकमा भएको छलफलका क्रममा सहकारीको रकम अपचलन तथा ठ्गी गर्ने १८ जना ब्यक्तिहरु देश बाहिर रहेको भन्दै उनीहरूलाई स्वदेश फर्काउन पहल गर्न मन्त्री लेखकलाई निर्देशन दिएको हो । सूर्यदर्शन,सहारा लगायत सहकारीका देशबाहिर रहेका जीबी राई सहित १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलब्ध गराएको र उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।
सूर्यदर्शनका ज्ञानबहादुर बम्जन,थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई पनि झिकाउन भनिएको छ । यस्तै सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरो लागेका भरत महर्जन, उनको श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई पनि तत्काल नेपाल ल्याउन भनिएको छ ।
शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
कति अमेरिका, कति बेलायत, कति मलेसिया, कति भारत र कतिको स्थिति अज्ञात रहेको हुनाले उहाँहरूलाई खोज्न, स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन माननीय गृहमन्त्रीलाई आग्रह गरेका छौं’ समिति सभापति सूर्य थापाले भने, ‘उहाँहरूलाई छानबिनको दायरमा ल्याएपछि मात्र छानबिन एउटा निष्कर्षमा पुग्नसक्छ ।’
समितिले सहकारीको मुद्दामा थुना वा प्रहरी हिरासतमा रहेका २४ जनासँग सोधपुछ गर्ने निर्णय गरेको छ । त्यसको सूची गृहमन्त्रीलाई दिएको भन्दै सभापति थापाले भने, ‘बाहिर भएका व्यक्तिहरूलाई बोलाएर छालफल गर्छौं । कारागारमा भएकाहरुसँग सोधपुछ गर्न आवश्यक जनशक्ति र समय प्रबन्ध गर्न गृहमन्त्री र सचिवलाई भनेका छौं ।

