देशभर हल्कादेखि मध्यम बर्षाको सम्भावना
काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

यतिबेला (सोमबार बिहान) देशभर साधारणतया बदली छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै, कोसी प्रदेशका एकदुई स्थानमा अहिले हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा राति धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

