रास्वपाको वहालवाला महामन्त्री आफैं रहेको मुकुलको दावी
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुलुक ढकालले रास्वपाको महामन्त्री आफै रहेको दावी गरेका छन्।

निर्वाचन आयोगमा निवेदन दिंदै ढकालले गत असार २५ मा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले आफुलाई पार्टी महामन्त्री र केन्द्रीय समिति सदस्यको जिम्मेवारी खोस्ने गरी गरेको निर्णय अवैधानिक भएको आरोप लगाउँदै अआइतबार अहिले पनि रास्वपाको महामन्त्री आफू रहेको दावी गरेका हुन्।
‘राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम मलाई सफाइ पेस गर्ने मानसिव मौका दिइएको छैन । नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या गरेको र सफाइको मौका दिनपर्ने विश्वव्यापि लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि सो व्यवस्था गरेकाले सफाइको मौका नदिइ गरिएको कुनै पनि कारवाही अवैधानिक ठहर्छ,’ ढकालले भनेका छन् ।
आफू महामन्त्रीकै पदमा बहाल रहेको जिकिर गर्दै ढकालले आफ्नो उपस्थितिबिना बसिएको कुनै पनि बैठक अवैधानिक हुने पनि पत्रमा उल्लेख गरेका छन् । “मैले कुनै पनि केन्द्रीय समिति सदस्य वा पदाधिकारीलाई बैठक सञ्चालनको अनुमति नदिएकाले मेरो अनुमति वा उपस्थिति बिना बसिएको पार्टीको कुनै पनि बैठक अवैधानिक हुनेछ”, उनले भनेका छन् ।

