सौर्य एयर दुर्घटनामा १८ जनाको मृत्यु,१७ नेपाली,एक जना यमन नागरिक



काठमाडौं।सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमास्थित  नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री ओलीले घटना ज्यादै दु:खद, हृदयविदारक र अकल्पनीय भएको बताए ।

उनले निधन भएकाहरूमा श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको प्रम सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

विमानस्थलबाट बिहान ११:११ बजे पोखराका लागि उडान भरेको एक मिनेटभित्र विमान दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट मनीष शाक्यलाई जीवित उद्धार गरिएको छ। उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ। जहाजमा सबै जना सौर्य एयरलाइन्सका कर्मचारी रहेको बताइएको छ। जहाजमा १८ जना नेपाली र एक जना यमन नागरिक थिए।

जहाज दुर्घटनामा परी १५ जनाको घटनास्थलमा र तीनजनाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा एयरलाइन्सको व्यवस्थापकीय टोलीका चारजना छन् ।जसमा सौर्य एयरका सीएएमओ म्यानेजर आश्विनकुमार निरौला, चिप अफ सेफ्टी सागर आचार्य, मेनटेनेन्स म्यानेजर यज्ञप्रसाद पौडेल र चिप अफ क्वालिटी एस्युरेन्स दिलिप बर्माको पनि मृत्यु भएको कम्पनीका डेपुटी जनरल मेनेजर उमेश आचार्यले बताए । उनीहरू कार्यकारी पदमा थिए ।

दुर्घटनाका प्रत्यक्षदर्शीहरूले विमानस्थल परिसर भित्रको कन्टेनरमा बजारिएर दुई टुक्रा भएको र आगो लागेको बताएका छन् ।

जहाज ठोक्किएपछि मानिसहरू छरिएका थिए । जहाज भुइँमा बजारिएपछि धुवाँको मुस्लो उठेको र त्यसको केही क्षणमा आगो दन्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्