काठमाडौं उपत्यकामा हैजा फैलने त्रास, ललितपुरका एक ब्यक्तिमा संक्रमण पुष्टि



काठमाडौं । ललितपुरका १६ वर्षिय एक किशोरलाई हैजाको संक्रमण पुष्टि भएसँगै काठमाडौं उपत्यकामा हैजा फैलने सक्ने त्रास बढेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसार हैजा संक्रमण पुष्टि भएका किशोरको उपचार भइरहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा ललितपुरको गोदावरी नगरपालिका–१४ ठैवको एक पुर्नस्थापना केन्द्रमा बस्ने ती किशोरमा हैजा पुष्टि भएको हो ।

त्यस्तै ठैवकै अर्का एक जना झाडापखालाका बिरामीको रिर्पोट आउन बाँकी छ । पछिल्लो समय झाडापखालाका दैनिक १० जना बिरामी टेकुमा उपचारका लागि पुग्ने गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा फैलन नदिन अहिले हैजा भेटिएको पुर्नस्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्ने भएको छ ।
हैजा भएका मानिसको दिसाबाट कीटाणु फैलने गर्छ ।

ती कीटाणु पानी र खानाको माध्यमबाट अन्य मानिसमा प्रवेश गरेसँगै हैजा फैलने गर्छ ।

पानी, बासी खानेकुरा, नपकाएको खानेकुराबाट पनि हैजा सर्ने जोखिम हुन्छ । पातलो चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् ।

हैजा लाग्न नदिन पानी उमालेर वा शुद्धिकरण गरेर पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी सडेगलेका खानेकुरा नखान, फलफूल र तरकारी राम्ररी सफा गरेर खान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्