नेपाली सेनाकाे साेलु सल्लेरी गुल्मलाई स्वतन्त्र बनाउन कांग्रेस नेता कार्कीकाे माग
काठमाडौं।नेपाली काङ्ग्रेस साेलुखुम्वुका नेता प्रकाशसिंह कार्कीले नेपाली सेनाकाे साेलुखुम्वु सल्लेरीस्थिति गुल्मलाई स्वतन्त्र बनाउन माग गर्नुभएको छ।

नवनियुक्त रक्षा मन्त्री मानवीर राईलाई रक्षा मन्त्रालयमा भेटी मंगलबार बधाई तथा शुभकामना दिनेक्रममा नेता कार्कीले अहिलेसम्म सल्लेरी गुल्म ओखलढुंगा गण मातहत रहेको भन्दै सो माग गर्नुभएको हो।
जिल्लामा हुने प्राकृतिक विपद्को उद्दार तथा अन्य काममा सेनाले ओखलढुंगा गणसँग समन्वय गर्नुपर्ने बाध्यताका कारण कार्य सम्पादनमा बिलम्ब र जटिलता हुने बताउँदै कार्कीले भन्नुभयो,-कार्य सम्पादलाई सहज बनाउन पनि सल्लेरी गुल्मलाई अधिकार सम्पन्न र स्वतन्त्र बनाउनुपर्छ।’
साेलुखुम्वुमा सगरमाथा राष्ट्रिय निकुञ्ज र बृहत् सगरमाथा पारिस्थितिकीय प्रणालीको एउटा महत्वपूर्ण अङ्ग मानिएको मकालु वरूण क्षेत्र समेतमा सेनाकाे निगरानी रहने भएकाले याे विषय महत्त्वपुर्ण रहेको कार्कीको भनाई छ।
सो अवसरमा रक्षामन्त्री राईले याे महत्त्वपूर्ण सुझावलाई
आफुले बुझ्ने र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा निर्बाचित राई गएको असार ३१ गते रक्षामन्त्री नियुक्त हुनुभएको थियो।

