आत्महत्या न्यूनीकरणका लागि साझा संयन्त्र बनाएर जान जरुरी : महानिरीक्षक कुँवर



काठमाडौं।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विश्वव्यापी रूपमा बढ्‌दो अवस्थामा रहेको आत्महत्या नेपालमा पनि जटिल सामाजिक समस्याको रूपमा देखा परेको उल्लेख गर्दै तथ्याङ्क विश्लेषणको आधारमा आत्महत्या न्यूनीकरणको लागि समयमा प्रभावकारी कदम चाल्न नसकिएको खण्डमास्थिति अझ भयावह हुने बताउनुभएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन प्रतिवेदन र सोको कार्ययोजना,२०८१ प्रस्तुतीकरण तथा सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले सो कुरा बताउनुभएको हो।तथ्याङ्क विश्लेषणको आधारमा आत्महत्या न्यूनीकरणको लागि समयमा प्रभावकारी कदम चाल्न नसकिएको खण्डमास्थिति अझ भयावह हुने तथ्यलाई मनन गरी देशव्यापी रूपमा शोध अध्ययन गरी कार्ययोजना समेत तयार भएको उल्लेख गर्दैन प्रहरी महानिरीक्षक कुँवरले आत्महत्या न्यूनीकरणका क्षेत्रमा भावी रणनीति तर्जुमा तथा कार्यदिशा तय गर्न प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले आत्महत्या न्यूनीकरण तथा रोकथाम नेपाल प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै यसका लागि सरोकारवाला निकायहरूको संयुक्त सहकार्यमा साझा संयन्त्र बनाएर आगाडि बढ्न जरूरी रहेको बताउनुभयो।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण प्रसाद पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भूसाल र मानसिक अस्पताल लगनखेलका निर्देशक एवम् प्रमुख कनसल्टेन्ट साइक्याट्रिष्ट डा.अनन्त प्रसाद अधिकारीले प्रतिवेदन र कार्ययोजना सम्बन्धी आ-आफ्नो दृष्टिकोण सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगंजका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तले शोध अध्ययन प्रतिवेदन र कार्ययोजना प्रस्तुतीकरण गर्नुभएको थियो । नेपाल प्रहरीको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट कार्यान्वयन कार्ययोजना र नेपाल प्रहरी कार्ययोजना २०८० मा समावेश रहेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन गर्न नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा देशव्यापी विस्तृत अध्ययन सम्पन्न गरी अध्ययन प्रतिवेदन तयार गरिएको थियो । प्रतिवेदनको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागसँगको सहकार्यमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्ययोजना २०८१ समेत तर्जुमा गरिएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शोध अध्ययन प्रतिवेदन तथा कार्ययोजना सार्वजनिकीकरण गर्नुका साथै शोध अध्ययन कार्यमा खटिने विषय विज्ञ तथा प्रहरी कर्मचारीहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्