बिपत्तिमा परेका छात्र लेखबहादुरलाई घरमै पुगेर हिमाल दर्शन माबिले उपलब्ध गरायो आर्थिक सहयोग
सोलुखुम्बु।मनसुनजन्य बिपत्तिका कारण गहिरो पीडामा रहेका विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र लेखबहादुर खत्रीको परिवारलाई नेचासल्यानको हिमाल दर्शन माध्यमिक विद्यालयले आर्थिक सहयोग उपलब्ध गराएको छ।

अविरल बर्षाका कारण गत बुधबार गएको पहिरोले घर बगाउँदा आमा देवकुमारी खत्रीको निधनसंगै बुवा र दिदी समेत गम्भीर घाइते भएपछि गहिरो पीडामा रहेको खत्री परिवारलाई छिमेकी जिल्ला ओखलढुंगाको चिसंखुगढी गाउँपालिका वडा नं-५ स्थित घरमै पुगेर विद्यालयको तर्फबाट ५१ हजार ५ सय ५५ रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको शिक्षक प्रकाश बाहिङ्गले जानकारी दिए।
व्यबस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोला,सदस्य नवराज जमरकट्टेल,प्रधानाध्यापक अशोक शर्मा तथा शिक्षकहरु प्रकाश बाहिङ्ग,वेदनाथ बास्तोला,वासु मिश्र,पुनम मुखिया,ज्ञानेन्द्र गाैतम,तारा शर्मा,उर्मिला शर्मा,नरेश राई, प्रेमप्रसाद कटेल,चनकुमारी शर्मा,पेशल बास्तोला लगायतले शनिबार छात्र खत्रीको घरमै पुगेर सो आर्थिक सहयोग हस्तान्तरण गर्नुका साथै परिवारप्रति सहानुभूति तथा समबेदना प्रकट गरेको विद्यालयले जनाएको छ।
कूल सहयोग रकममा २४ हजार पांच सय शिक्षक तथा कर्मचारीबाट, १५ हजार पचपन्न रुपैयाँ विद्यालयमा गठित स्काउट दलकाे सक्रियतामा संकलित र विद्यालयले स्थापना गरेको विद्यार्थी सहायता काेषकाे तर्फबाट १२ हजार रहेको शिक्षक बाहिङ्गको भनाई छ।खत्री आफन्तको बसेर सो विद्यालयमा अध्ययनरत थिए।
घाइते लेखराजका बुवा बाबुराम खत्री र दिदी मेनका खत्रीको काठमाडौको ट्रमा सेण्टरमा उपचार भइ रहेको बताईएको छ।

