रास्वपा महामन्त्री ढकालले निकाले आफ्नो दुर्घटनाउन्मुख रहेको निष्कर्ष
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकालले अहिलेकै जनमतका आधारमा आगामी निर्वाचनमा गए आए राष्ट्रिय पार्टी बन्न हम्मे हुने निष्कर्ष निकालेका छन्।

देश दौडाहाका क्रममा ३९ जिल्लाका नेता–कार्यकर्तासँग भेटघाट र समीक्षात्मक अन्तरक्रियापछि आफ्नो पार्टीको जनमत कमजोर रहेको भन्दै सो निष्कर्ष निकालेका हुन्।पुराना दलहरु त्यागेर स्वतन्त्रहरुसंग
सम्बन्ध बनाउन नसके पार्टी विवेकशीलजस्तो क्षीण अवस्थामा पुग्ने सम्भावना रहेकाे उनको भनाई छ।महामन्त्री ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्लाका नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेका थिए।
अन्तरक्रियापछि उनले तयार गरेको प्रतिवेदनमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग सत्तामा सम्झौता गर्नुभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धनगढी उपमहानगरका मेयर गोपी हमालसँग सहकार्य अघि बढाउनुपर्ने उल्लेख छ ।
२०८४ को निर्वाचनभन्दा पहिला नै उनीहरूसँग मिल्नुपर्ने उनकाे निष्कर्ष छ । त्यसका लगि स्थानीय तहलाई गैरदलीय बनाउन पार्टी सहमत हुनुपर्ने उनकाे सुझाब छ ।
ढकालले पार्टी विवेकशील बन्ने बाटोमा रहेकाे भन्दै यसाे भन्दा आफूलाई महामन्त्रीबाट घोक्र्याइनसक्ने बताएका छन् । सभापति लामिछानेलाई बुझाउन तयार पारिएको प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख रहेको निष्कर्ष निकालिएको छ।

