स्थापना दिवसमा रास्वपाको चियापान,जनताको अपेक्षा अनुसार काम गर्न अन्य दलका नेताहरुको सुझाव
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी स्थापनाको दोश्रो बर्ष पुरा गरेको अवसरमा पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा चियापान समारोहको आयोजना गरेको छ।

२०७९ सालमा सम्पन्न निर्बाचनबाट संघीय संसद प्रतिनिधि सभाको तेस्रो ठुलो दलका रूपमा स्थापित सो पार्टीले आयोजना गरेको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’सहित सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरू सहभागी भएका थिए।चियापानमा पूर्वप्रधानमन्त्रीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई जनमत पार्टीका अध्यक्ष सिके राउत, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, दिलेन्द्र प्रसाद बडू, एनपी साउद, विनोद चौधरीलगायत सहभागी भएका छन् । सहभागीहरुले जनताको चाहना र अपेक्षा बिपरित काम गरेर जनतालाई निरास नबनाउन सुझाव दिएका थिए।
यसैबीच,सभापति रवि लामिछानेले आफूहरु पार्टी स्थापनाको उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताएका छन् ।
पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएका अवसरमा आफ्ना सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले पार्टीको वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गरेर पार्टी स्थापनाको उद्देश्य पूरा गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले पार्टी स्थापनाको दुई वर्षको यात्रा चुनौतीविहीन नभए पनि संसद् र सरकारमार्फत सबैको ध्यानतान्न सफल भएको बताए । “रास्वपा जन्मिएको दुई वर्ष भयो, हामी हाम्रो उद्देश्यमा अडिग छौँ, गन्तव्यमा स्पष्ट छौँ । कुरा बाटोको हो, बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ । आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य, शुभचिन्तकको आशा र अपेक्षासहितका अग्लाअग्ला पहाड काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ । २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौँ, चार मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौँ”, सभापति लामिछानेले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

