आई टी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ गर्दै बुझायो ज्ञापनपत्र
काठमाडौँ ।प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट आईटी आर्मीले वैदेशिक रोजगार क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ गर्दै ज्ञापनपत्र बुझाएको छ ।

आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भूषण साहको नेतृत्वमा विभिन्न मागहरू गर्दै वैदेशिक रोजगार विभाग अगाडि धर्ना तथा घेराउ गरिएको हो । वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अवैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका समस्याहरू समाधान गर्नुपर्ने माग गर्दै विभागका महानिर्देशक डण्डुराज घिमिरेमार्फत नेपाल सरकारलाई पुनः स्मरण (तागेदा) सहितको ज्ञापनपत्र बुझाएको हो ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने,बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने,फ्री–भिसा फ्री–टिकट व्यवहारतः लागू गर्नुपर्ने,निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने,देशका भ्रष्ट शासक प्रशासक र व्यापारीहरूको अवैध पैसालाई कामदारको रगत पसीनाले साटिएको रेमिटेन्सको रकमसँग हुण्डीमार्फत सट्टापट्टा गरी विदेशमा कालोधन थोपार्ने स्थितिको अन्त्य गर्नुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए ।
यसअघि वि.सं. २०८० साल भदौ १३ गते आईटी आर्मीले ११ बुँदे मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थियो ।

