नगरसभामा कांग्रेस,एमालेको धङधङी बोकेर नआउन नगरसभा सदस्यहरुलाई मेयर बालेनको आग्रह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरको नगरसभामा कांग्रेस,एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको स्पष्ट गरेका छन् ।

‘काठमाडौँ महानगरको कुनै पनि नीति,योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ’ मेयर बालेनले लेखेका छन् ।

‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगरपालिकाले गर्दैन’ उनले फेसबुकमा लेखेका छन् ‘काठमाडौँ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’

प्रतिक्रिया दिनुहोस्