हामी पनि ज्येष्ठ नागरिक बन्छौं भन्ने कुरा कसैले भुल्नु हुँदैन : मन्त्री चौधरी



कावासोती। महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भोली हामी पनि ज्येष्ठ बन्छौँ भन्ने कुरा कसैले भुल्न नहुने बताउनुभएको छ ।

रिटर्नी माइग्रेन्ट नेपाल गण्डकी प्रदेशले राष्ट्रिय युवा परिषद् भक्तपुरसँगको समन्वय तथा गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाको सहयोगमा वैदेशिक रोजगारमा गएका युवाहरूको घरपरिवारका दिदीबहिनीहरूको उद्यमशीलता विकासका लागि आयोजना गरेको एक महिने ब्युटिसियन तालिमको समापन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो।

नवलपरासी पूर्वको कावासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो आमाबुवाप्रतिको दायित्व कुनैपनि सन्तानले भुल्न नहुने बताउनुभयो । ‘ज्येष्ठ नागरिक हामी सबैको पूजनीय आमा, बुवा हुन् । तर अहिलेको अवस्थामा सन्तानले आफ्नो बुवा आमालाई बिर्सेर केयर होम तथा वृद्धाश्रममा लैजाने प्रवृत्ति बढेको छ,मन्त्री चौधरीले भन्नुभयो,‘त्यो कुराको अन्त्यका निम्ति सबै पालिकामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र हुनपर्छ । त्यहाँ उनीहरू आ-आफ्नो अनुभव साटासाट गर्छन् । जसले गर्दा उनीहरूको रिफ्रेसमेन्ट हुन्छ र उसको बाँच्ने उमेर केही वृद्धि हुन सक्छ ।’

पालिका आफैँले पनि ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रहरू निर्माण गर्न सक्ने उहाँको भनाई थियो।दिवा सेवा केन्द्रमा आएर ज्येष्ठ नागरिकहरू भलाकुसारी गर्दा उनीहरूको आयु पनि लामो हुने मन्त्री चौधरीले बताउनुभयो । ज्येष्ठ नागरिकको आयु बढाएर के गर्ने भन्ने कुरा पनि आउने गरेको भन्दै उहाँले ज्येष्ठ नागरिक हामी सबैको अभिभावक भएकाले सबैले सेवाभाव प्रकट गर्नुपर्ने बताउनुभयो । ‘भोली हाम्रो छोराछोरीले पनि ज्येष्ठ नागरिकलाई बचाएर के गर्ने भन्ने अवस्था नआओस् । त्यसका निम्ति हाम्रा हरेक टोलमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र हुनुपर्छ । तर यो बजेटले केही दिवा सेवा केन्द्रका निम्ति मात्र बजेट आएको छ । हामीले जुन उद्देश्यले यो कार्यक्रम अगाडि ल्याएका थियौँ त्यसअनुसार बजेट व्यवस्थापन हुन सकेन’, मन्त्री चौधरीले भन्नुभयो ।

हकवाला कोही नभएको, सन्तान नभएकाहरूका निम्ति ज्येष्ठ नागरिक सेवा केन्द्र हुनुपर्छ भन्ने अवधारणा ल्याएको भन्दै उहाँले सोचेजस्तो बजेटको व्यवस्था नभए पनि केही केन्द्रहरू यो वर्ष निर्माण हुने बताउनुभयो ।

मन्त्री चौधरीले आफ्ना सन्तानले बुवा आमालाई वृद्धाश्रम तथा सेवा केन्द्रमा छाडेर जाने प्रवृत्ति बढेको भन्दै उक्त कार्यको अन्त्यका निम्ति मन्त्रालयले नियमावली निर्माण गरेर १० प्रतिशत आमाबुवाका निम्ति अनिवार्य खर्च गर्ने व्यवस्था गरिएको बताउनुभयो‘अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत कमाई आमा बुवाका लागि खर्च गर्नुपर्छ । उसको कमाई निजी वा सरकारी जुनसुकै क्षेत्रबाट प्राप्त भएपनि अभिभावका निम्ति खर्च गर्नुपर्नेछ’, उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक नियमावली पहिलो संशोधन २०८१ मार्फत यो कुरा लागू हुनेछ । यो पालिकामार्फत लागू हुनेछ । मन्त्रिपरिषद्बाट पारित भएको छ अब छिट्टै यो नियमावली लागू हुनेछ ।’file foto

प्रतिक्रिया दिनुहोस्