सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति गठन हुने
काठमाडौं।सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ। संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा छानबिन समिति गठन गर्ने सहमति जुटेको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउने सहमति भएको जानकारी दिए। समितिलाई कुन मोडालिटीमा अगाडि लैजाने भन्ने विषयमा भने छलफल हुन बाँकी रहेको उनको भनाइ छ।
उक्त समितिको कार्यादेश के हुने भन्ने विषयमा भने कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ। कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहने बताइएको छ। उक्त कार्यदलले आइतबार कार्यादेशको बारेमा टुंगो लगाउनेछ।
सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समान धारणा बनेको कांग्रेस नेता रमेश लेखकले बताए।
कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएको छ।

