जसपा नेपाल छोडेर लुम्बिनी प्रदेशका दुई सांसदले रोजे जसपा
काठमाडौं । लुम्बिनी प्रदेश सभामा जसपा नेपालबाट निर्वाचित दुई सांसदले नवगठित जसपा रोजेका छन्।आइतबार जसपाको पक्षमा सनाखत गर्दै मन्त्रीसमेत रहेका भण्डारीलाल अहिर र सांसद आदेशकुमार अग्रवालले जसपाको पक्षमा सनाखत गरेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट पार्टी बिभाजन गरेर केहि दिन अघिमात्रै निर्बाचन आयोगमा जसपा दर्ता गराएका थिए।त्यसपछि जसपा नेपालबाट निर्बाचित जनप्रतिनिधिहरुलाई सनाखत
गरेर पार्टी रोज्न पाउने गरी निर्बाचन आयोगले समय उपलब्ध गराएको छ।
त्यसै क्रममा आफूहरूले आइतबार जसपाको पक्षमा सनाखत गरेको अग्रवालले बताए । ‘हामी दुई जनाले सनाखत गर्यौँ’, उनले भने ।अहिर भने यसअघि नै जसपाको पक्षमा खुलेर मन्त्रीको पदभार ग्रहण गरिसकेका थिए । उनले सनाखत भने आज मात्रै गरेका हुन् ।
अम्बिका काफ्ले भने कुनै पक्षमा खुलिसकेकी छैनन् । तर उनी पनि नवगठित जसपाको पक्षमा खुल्ने सांसद अग्रवालले दाबी गरे ।लुम्बिनी प्रदेश सभामा जसपा नेपालबाट निर्वाचित तीन सांसद छन् ।

