नेपाली कांग्रेसको महासमिति बैठक सुरु
ललितपुर।नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको फोटोमा माल्यार्पण गरी बैठकको उद्घाटन गरेसंगै महासमिति बैठक सुरु भएको हो।

ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको बैठकमा नेताहरूले सम्बोधन गरेपछि उपसभापति तथा महामन्त्रीहरूले तयार पारेको दस्तावेजहरू पेश गर्ने कार्यसूची छ ।
बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् ।
यसैगरी अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
तीन दिनसम्म चल्ने उक्त बैठकमा २ हजार बढी महासमिति सदस्यहरुको उपस्थिति रहेको बताईएको छ।प्रतिनिधि चयन प्रती असन्तुष्टि जनाउंदै कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले भने उक्त बैठक बहिष्कार गर्ने घोषणा गरेको छ।

