सोलुखोला लिफ्टिङ्ग खानेपानी आायोजना प्रवेशमा जग्गाधनीको रोक
डिल्ली शर्मा,सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं ४ मा निर्माणाधीन सोलुखोला लिफ्टिङ्ग खानेपानी आायोजनाको मुख्य कार्यालय तथा फिल्टर ट्याकी निर्माणस्थल प्रबेश मार्गमा जग्गाधनी भुवाजीत राईले छेकाबार लगाइदिएका छन् ।

एक बर्ष अघिदेखि निर्माण शुरु गरिए पनि आयोजनास्थलको जग्गाको मुल्य हालसम्म पनि नपाएका कारण छेकाबार लगाएर मुख्य बाटो नै बन्द गर्नु परेको राईले बताए।’बिगत १ बर्ष अगाडी ६ रोपनी जग्गाको मुल्य रु १० लाख स्थानीय सरकारले उपलब्ध गराउने र जग्गा रजिष्टेशन गर्ने सम्झौता अनुसार लिफ्टीङ्ग आयोजनाले पक्की भवन लगायतका संरचना निर्माण गरेको भएपनि जग्गाको मुल्य नपाएपछि बाटो बन्द गर्न बाध्य भएँ’- जग्गाधनी राईले भने।
सो सम्बन्धमा नेचासल्यान गाउपालिका अध्यक्ष धनजन राईले कार्यपालिकाको निर्णयबाट बजेट बिनियोजन भईसकेको र जग्गा धनीकै आन्तरिक कारणले जग्गा रजिस्ट्रेसनमा समस्या रहेको प्रतिक्रिया दिए।गाउँपालिकाका उपाध्यक्ष बिना राईले भने बजेट अभावको कारण र जग्गाको सरकारी मुल्याङ्कन अनुसार पर्ने मुल्यभन्दा स्थानीय मुल्य बढी भएको कारण जग्गाधनीलाई रकम दिन नसकिएको बताइन्।प्रकृया मिलेमा साहस उर्जाबाट सामाजिक उतरदायित्व अन्तर्गत नेचासल्यान गाउँपालिकालाई प्राप्त रकम ७० लाख रुपैयाँबाट भुक्तानी गरिने उनको भनाई थियो।
समस्या आन्तरिक वा बाह्य जे सुकै भएपनि कुनै पनि ब्यक्तिगत सम्पत्तिमा सरकारी संरचना निर्माण गर्नु अगावै समयमा रकम भुक्तानी गरेर सरकारी स्वामित्वमा जग्गा नल्याई सरकारी संरचना निर्माण गर्दा ब्यक्तिगत सम्पत्तिलाई कब्जा गर्न खोजेको हो की भन्ने प्रश्न समेत उठ्न थालेको छ।
आयोजनामा काम गर्ने मजदुरहरुले आफुले काम नगरी ज्याला नपाईने र सामान ढुवानीको बाटो नै बन्द भएपछि रोजगारी गुमेको गुनासो गरेका छन् । अहिले आयोजनास्थलमा १५ जना मजदुरले दैनिक काम गरिरहेका छन्।उक्त आयोजना संघीय सरकारको करिब ३५ करोड बजेटबाट संचालन गर्न लागिएको र उक्त आयोजना बाट नेचासल्यानका करिब ७०० घरपरिवारमा खानेपानी उपलब्ध गराउने योजना रहेको छ ।

