२६ औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी सोलुखुम्बुद्वारा शुभकामना आदानप्रदान तथा चियापान आयोजना

सोलुखुम्बु । सोलुखुम्बुमा प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस मनाइएको छ । आज सल्लेरीमा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरि प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस मनाइएको हो ।

२६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नु हुँदै नेकपा एमाले सोलुखुम्बुका सचिव शिशिर खालिङले श्रमजिवी पत्रकारहरुको संस्था प्रेस चौतारीले पत्रकारहरुको हकहितका लागि धेरै राम्रो काम गरेको बताउनुभएको छ । राईले यथार्थपरक जनजीवनको आवाजलाई पत्रकारले प्रस्तुत गर्नुका साथै देशमा घटिरहेका विभिन्न घटना परिघटनामा पत्रकार निष्पक्ष हुनु पर्ने बताउनुभएको छ । सत्यको पक्षमा आफूहरु सधै लड्ने सचिव राईको भनाई छ ।
कार्यक्रमका नेपाल पत्रकार महासंघ सोलुखुम्बुका पूर्व अध्यक्ष मनोज श्रेष्ठले नेपालको विभिन्न राजनीतिक तथा अन्य घटनाक्रममा प्रेस चौतारी नेपालले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुहुँदै निष्पक्ष र तटस्थ पत्रकारितामा जोड दिनुभएको छ । वहाले सामाजिक सञ्जालमा आएका कुराहरुलाई धेरैले ठिक बेठिक छुट्याउन नसकिरहेको भन्दै सामाजिक सञ्जालले पनि पत्रकारितालाई चुनौति दिइरहेको बताउनुभएको छ ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य सुर्यकुमारी सुनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला उपसचिव दिपक राजभण्डारीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले जिल्लामा कार्यक्रम तय गरिएको प्रेस चौतारी नेपाल सोलखुम्बुका सचिव गार्डेन राईले स्मरण गराउनुभयो ।

