आजबाट पूर्बमन्त्री आलमबिरुद्धको मुद्दाको सुनुवाइ हुँदै
काठमाडौँ।विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा जेल सजाय भोगिरहेका
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ आजबाट हुने भएको छ।

रौतहट जिल्ला अदालतले आलम लगायतका ११ जनाविरुद्ध दायर रिटमा आजदेखि अन्तिम सुनुवाइका लागि पेशी तोकेको हो। मंसिरमा २४ वादी र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाए पनि सुनुवाइको पेसी तोकिएको थिएन।
२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनताका रौतहटको साविक राजपुर फरहदवा गाबिस– ४ मा निर्वाचन जित्न विस्फोटक पदार्थ संकलन गरी राखेको अवस्थामा विस्फोट हुँदा बम बनाउँदै गरेका पिन्टु भनिने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए ।
आलमले निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले विस्फोटक पदार्थ र हातहतियार तयार गरेका थिए । सांसद उम्मेदवारसमेत रहेका आलमले पोल खुल्ने डरले घाइते भएका पिन्टु र मियाँलाई आफ्नै ईट्टा भट्टाको चिम्नीमा जलाई मारेको उनीमाथि आरोप छ ।
२०७६ साल कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा आलमसहित ११ जना थुनामा छन् ।

