जसपा नेपालद्वारा महाधिवेशन कार्यतालिका पारित, बैशाख ३० गतेभित्र प्रतिनिधिको नाम पठाइसक्नु पर्ने



काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म धनुषामा आयोजना हुने पार्टी महाधिवेशनको कार्यतालिका पारित गरेको छ।

केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार शुक्रबार बसेको केन्द्रीय समिति बैठकले फागुन २५ गतेसम्म सङगठित पार्टी सदस्यता वितरण तथा नवीकरण गर्ने,
चैत १० गतेसम्म संसदीय निर्वाचन क्षेत्रअनुसार सङगठित पार्टी सदस्यहरुको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति र राष्ट्रिय समितिले प्रदेश समितिमार्फत केन्द्रीय कार्यालयमा पठाइसक्नु पर्ने कार्यतालिका छ।

महाधिवेशन प्रतिनिधिहरुको चयन तथा निर्वाचन आगामी चैत २० गतेदेखि वैशाख २० गतेसम्म गरिसक्नुपर्ने भएको छ । यसरी निर्वाचित महाधिवेशन प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा आगामी वैशाख ३० गतेभित्र पठाइसक्नु पर्ने छ ।

महाधिवेशनसम्बन्धी प्रक्रिया एवं कार्यविधि केन्द्रीय कार्यकारिणी समितिले तोक्ने तथा केन्द्रीय निर्वाचन समिति गठन गर्ने प्रमुख बस्नेतले जानकारी दिए । महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरु तयार गर्न मस्यौदा समिति गठन हुने भएको छ । जस अन्तर्गत विश्लेषणात्मक राजनीतिक एवम् सङठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी कार्यदिशासम्बन्धी दस्तावेज, पार्टीको नीति तथा कार्यक्रमसम्बन्धी दस्तावेज (सैद्धान्तिक, वैचारिक तथा नीतिगत दस्तावेज) रहेका सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्