गुणस्तरीय शिक्षाका लागि माप्यदुधकोशीको अर्को पहल : विशेषज्ञहरुबाट सबै प्रधानाध्यापकहरुलाई प्रशिक्षण



खगिन्द्रराज बास्तोला,काठमाडौं।सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले सिकाईलाई प्रभावकारी बनाउंदै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले राष्ट्रियस्तरका प्रशिक्षकहरुबाट प्रशिक्षण प्रदान गरेको छ।

नमूना विद्यालयको अध्ययन तथा अवलोकनका लागि काठमाडौं आएका पालिका भित्रका ३९ वटै विद्यालयका प्रधानाध्यापकहरुको क्षमता अभिबृद्दिका लागि शुक्रबार सुकेधाराको नवदुर्गा पार्टी प्यालेसमा कार्यशाला गोष्ठीको आयोजना गरेर राष्ट्रिय प्रशिक्षकहरुबाट प्रशिक्षण प्रदान गरेको हो।कार्याशालामा शिक्षाबिद् डा. विद्यानाथ कोइराला,सकारात्मक दृस्ठिकोणका अभियन्ता बुद्धि तामाङ र युलियन स्कुलका प्रीन्सिपल मेदिन लामिछानेले ‘प्रभाकारी सिकाई र गुणस्तरीय शिक्षा’ प्रदान गर्न अपनाउनुपर्ने विधि र रणनीतिका बारेमा प्रधानाध्यापकहरुलाई प्रशिक्षण दिएका थिए।

रीड नेपालको समन्वय तथा गाउँपालिकाको आयोजनामा सम्पन्न सो कार्याशालामा विद्यार्थीहरुको चासो र रुचिको वेवास्ता गरेर शिक्षकहरुले शिक्षणको पुरानै ढांचा र शैलीलाई निरन्तरता दिंदा सिकाई प्रभावकारी र शिक्षामा गुणस्तरीयता कायम हुन नसकेको प्रशिक्षकत्रयले टिप्पणी गरेका थिए।सिक्ने र सिकाउनेकाबीच समयानुकूल तादात्म्यता कायम गर्न सके यसले सकारात्मक परिणाम दिने उनीहरूको भनाई थियो।

गुणस्तरीय शिक्षाका लागि पाठ्यपुस्तक र कक्षाकोठामा केन्द्रित सिकाईमात्र पर्याप्त नहुने भन्दै उनीहरूले यसलाई अझ व्यापक र फराकिलो बनाउन ब्यक्ति,घर,समाज र संस्थाहरु उपयुक्त बन्ने उनीहरूले बताए।सैद्धान्तिक भन्दा पनि ब्यबहारिक र प्रयोगात्मक सिकाईको अवधारणालाई अगाडि बढाउनुपर्नेमा उनीहरूको जोड थियो।
डोका र ढोका दुबैतिर ठिक हुने पुरानो भनाईको स्मरण गर्दै शिक्षाबिद् कोइरालाले गरि खाने सीप सिक्नु,सिर्जनशील क्षमता निर्माण गर्न सक्नु,सिकेका कुरा मध्ये आवश्यक र अनावश्यक छुट्याउन सक्ने बनाउनु नै गुणस्तरीय शिक्षा प्रदान गर्नुभएको बताए।

शिक्षाको सन्दर्भमा अन्तरनिहित नेतृत्व क्षमताबारे प्रशिक्षण दिंदै सकारात्मक दृष्टिकोणका अभियन्ता तामाङले गुणस्तरीय शिक्षकहरुले मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने बताए।त्यसका लागि नेतृत्व गर्ने ब्यक्ति (शिक्षक) समानता र समभाव,मित्रता र सहयोग,करुणा,प्रज्ञा र यथार्थ,सन्तोष र आनन्द,शान्ति र सृजना,स्पष्ट र पवित्र हुनुपर्ने बताउनुभयो ।

अर्का प्रशिक्षक लामिछानेले प्रबिधिका कारण संसारमा द्रुततर बिकास भइरहे पनि सिकाउने तरिकामा परिवर्तन नआउंदा समस्या भइरहेको बताए। हामी पाठ्यक्रम,पाठ्यपुस्तक चिन्छौं तर बच्चाको सिक्ने शैली चिन्न सक्दैनौं,उनले भने-हरेक विद्यार्थीको सिक्ने शैली चिन्न नसक्दा अहिले सिकाईमा समस्या आईरहेको छ। गुणस्तरीय शिक्षाका लागि पराम्परागत सिकाईको शैली बदल्नु पर्ने आवश्यकता उनले औंल्याएका थिए।
माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सम्पन्न कार्यशालामा गाउँपालिका उपाध्यक्ष गौरब राई,नेपाल सरकारका उपसचिव मेघनाथ शर्मा,गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र यादव,शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराई ,रीड नेपालका संस्थापक तथा कार्यकारी अधिकृत भीम बोगटी र गाउँपालिकाका अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

रीड नेपालका शिक्षा बिकास संयोजक केशवदेब गिरीले सहजीकरण गरेको सो कार्यक्रमलाई सम्बोधन गर्दै उपसचिव शर्माले एउटा ब्यक्ति अठोटले परिवर्तन सम्भव रहेको बताउंदै गुणस्तरीय शिक्षा प्रदानमा प्रधानाध्यापकहरुको भूमिका महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।

गाउंपालिका अध्यक्ष राईसहितका जनप्रतिनिधि र प्रधानाध्यापकहरुको टोलीले बिहीवार प्राविधिक धारतर्फका दुई नमूना विद्यालय काठमाडौंको धापासीस्थित तिलंगाटार माबि र चन्द्रागिरी नगरपालिका पुरानो नैकापस्थित कंकाली माबिको अध्ययन तथा अबलोकन भ्रमण गरेको शिक्षा शाखा प्रमुख भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्