राष्ट्रिय क्रिकेट टिमबाट अलग भए सन्दीप लामिछाने



काठमाडौँ । जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा ८ वर्षको कैद सजायको फैसला भएसँगै क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका छन् ।

उनले नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै यसबारे जानकारी गराएको क्यान स्रोतले बताएको छ । 

उनले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा पनि गरेका छन् । अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिमबाट म अलग्एिको छु। म आशा गर्दछु कि क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ’, उनले भनेका छन् ।

यसैबीच सन्दीप लामिछानेले आफू आर्थिक समस्यामा परेको भन्दै क्यानबाट रोकिएको भुक्तानी फुकुवा गरिदिन पनि आग्रह गरेका छन् ।  यस्तै कम खेलमा नै १०० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाम बनेकामा खुसी व्यक्त गर्दै सन्दीपले कतिपय कठिन समयमा पनि देशका लागि खेलेको स्मरण गरेका छन् । 

उनले आफू काठमाडौँ अदालतबाट दोषी ठहर भएपनि न्यायका लागि फेरि माथिल्लो अदालतमा जाने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्