‘भ्वाइस अफ नेपाल’ मा कुमार प्रयासलाई जिताउन जुट्यो थुलुङ दुधकोशी, गर्‍यो झण्डै आठ लाख सहयोग



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले भ्वाइस अफ नेपाल सिजन-५ को अन्तिम प्रतिस्पर्धामा रहेका गायक कुमार प्रयास राईलाई ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

गाउँपालिकाको केन्द्र मुक्लीमा बुधबार आयोजित पाँचौँ अध्यक्ष रनिङशिल्ड प्रतियोगिता तथा बृहत सांगितिक कार्यक्रमको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले उनलाई सो आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।कोच उदय सोताङको टिमबाट फाइनलमा प्रवेश गरेका प्रयास थुलुङदुधकोशी गाउँपालिकाकै वडा नं ९ का बासिन्दा हुन् ।

गायक प्रयास गाउँपालिकाकै गहना भएको बताउंदै अध्यक्ष राईले उनलाई बिजय गराउनका लागि भोटिङमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले सहयोग रकम बराबरको चेक प्रदान गरेको बताए।

अध्यक्ष राईले विजयी गराउन भोट गरि सहयोग गर्न सबैमा अपिल गरेका छन् । गाउँपालिकाले आयोजना गरेको सांगीतिक कार्यक्रमका लागि यतिबेला गायक प्रयाससंगै सोताङ दम्पती पनि थुलुङ दुधकोशीमै छन्।सोताङले आज थुलुङ दुधकोशीमै आफ्नो जन्म दिन मनाएका थिए।

अध्यक्ष रनिङशिल्ड प्रतियोगिता तथा बृहत सांगितिक कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले आफूले स्थानीय सरकार प्रमुखको रूपमा बिगत सात बर्ष यता गाउँपालिकाको समृद्धि र बिकासका लागि इमान्दार प्रयत्न गरिरहेको बताएका थिए।

राज्यको पुनर्संचना भइसकेपछि प्रदेश र सङ्घीय सरकारबाट वित्तीय हस्तान्तरणको नाममा आउने केही श्रोतले जनअपेक्षा अनुरूपको काम गर्न नसकिने बताउंदै अध्यक्ष राईले जन अपेक्षा र स्थानीय बिकासको आवश्यकता पूरा गर्न आफुले अन्य विभिन्न विधिहरूबाट श्रोत जुटाएर काम गरिरहेको स्पष्ट गरेका थिए।

स्थानीय सरकारका रूपमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, स्थानीय विकाससँगै समग्रतमा भूगोल सुहाउँदो र जनअपेक्षा अनुसारको काम गरिरहेको अध्यक्ष राईको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्