पृथ्वी जयन्तीका अवसरमा राप्रपाद्वारा आयोजित कविता प्रतियोगितामा ३०५ सहभागी, पुन मगर भए प्रथम
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको कविता प्रतियोगितामा उमेश पुन मगरको देशभित्र देखेको देश पहिलो भएको छ।

देश विदेशका ३०५ जना सर्जकबाट प्राप्त रचनाहरू मध्येबाट पुन मगरको कविता प्रथम भएको राप्रपाले जनाएको छ।प्रबक्ता मोहन श्रेष्ठका अनुसार प्रतियोगितामा सुभाष खनालको पृथ्वीनारायण दोस्रो, सिजन श्रेष्ठको पृथ्वीको यात्रामा पृथ्वी तृतीय, अविरल डिसीको बाँचौँ नेपाली बनी, निरुता बुढाथोकीको ए मेरा सन्तति हो र प्रवीण अधिकारीको बडामहाराजलाई पत्रले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
उत्कृष्ट कविता छनौटका लागि वरिष्ठ कवि तथा साहित्यकारहरू विश्वविमोहन श्रेष्ठ, डा नवराज लम्साल र मोमिला जोशी निर्णायक रहेका थिए।विजेता कविहरूलाई प्रथम पुरस्कार बापत रु एक लाख, द्वितीय पुरस्कार बापत रु पचास हजार, तृतीय पुरस्कार बापत रु २५ हजार र तीन जना प्रत्येकलाई प्रोत्साहन पुरस्कार बापत रु दश हजार का दरले आगामी पौष २७ गते काठमाडौँको भृकुटीमण्डपमा हुने जलपान समारोहका बिच पुरस्कृत गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

